
२०७९ को आमचुनावमा अप्रत्यासित जित हात पारी चर्चामा आएका दुई पार्टी नागरिक उन्मुक्ति र जनमत पार्टी एकीकरण गर्ने तयारीमा जुटेका छन् । यो बेमौसीमा सिजनमा उनीहरू पार्टी एकता गर्नुपर्ने अवस्थामा आफ्नै पार्टीभित्रको घरझगडाका कारणले आइपुगेका हुन् ।
नाउपामा अध्यक्ष राञ्जिता चौधरी र संरक्षक रेशम चौधरीबीचको किचलो तथा जनमतभित्र अध्यक्ष सीके राउतले चलाउने गरेको कारबाहीको डण्डाले दुवै पार्टीभित्र असन्तुष्टि छ । यसरी दुवै पार्टी आन्तरिक समस्यामा रहेका बेला एकीकरण गर्ने तयारीमा पुगेका हुन् ।
नाउपा र जनमत पार्टीबीच एकता गर्ने गरी कार्यदल गठन भएका छन् । नाउपाको शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले एकताका लागि सांसद गंगाराम चौधरीको संयोजकत्वमा तीनसदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा नाउपाका संस्थापक केन्द्रीय सदस्य सुनिता चौधरी र रामलाल चौधरी सदस्य छन् ।


सो कार्यदलले एकता प्रस्ताव एक हप्तामा तयार गरेर पार्टीलाई बुझाउने र त्यसपछि जनमत पार्टीसमक्ष लैजाने तयारी भएको संयोजक गंगाराम चौधरीले बताए । उनले भने, ‘हाम्रो कार्यदलले एक हप्तामा एकताको प्रस्ताव तयार गर्छौं । उक्त प्रस्ताव हाम्रोबाट अनुमोदन भएपछि दुवै पार्टीको संयुक्त बैठकमा छलफल गर्नेछौँ ।’
प्रस्तावमा विचार, दृष्टिकोण, नीति, नेतृत्वबारे स्पष्ट खाका बनाउने र सबै कुरामा सहमति भएमा नयाँ वर्षमा पार्टी एकता हुने चौधरी बताउँछन् । उनले भने , ‘एकताका लागि हामीले कार्यदल हिजो मात्र बनायौँ । जनमतले धेरै पहिला नै कार्यदल बनाएको छ । अब छिट्टै एकता हुन्छ । एकताका लागि कुरा धेरै अगाडि बढिसकेको छ । हाम्रा अध्यक्ष र संरक्षकबीच कुनै विवाद छैन । एकताका लागि सबै तयार छौँ ।’
पार्टी एकताका विषयमा केही दिनअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत अध्यक्ष सीके राउतबीच संसद भवनमा छलफल भएको थियो ।
