
सोलुखुम्बु। नेपाल शेर्पा संघ संघीय समितिको सातौं बैठक सोलुखुम्बुको सल्लेरीमा सुरु भएको छ । सल्लेरीमा जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्ने तथा विभिन्न एजेण्डामाथि महत्वपूर्ण छलफल गरिने संघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।


बैठकमा विभिन्न विषयमा कार्यपत्रसहित प्रस्तुतीकरण गरी समूहगत छलफल गरिएको छ । धर्म, संस्कृति र हाम्रा मान्यताहरुबारे आचार्य नुर्बु शेर्पा, जलवायू परिवर्तन र हिमाली क्षेत्रबारे आङ छिरिङ शेर्पा, समसामयिक राजनैतिक अवस्था र पहिचानको आन्दोलनबारे अध्यक्ष गेल्जे लामा शेर्पा र शेर्पालुङ सभा अवधारण महासचिव लाक्पा शेर्पाद्धारा कार्यपत्र प्रस्तुतीकरण भएको छ ।
कार्यपत्र प्रस्तुत गर्दै जलवायु मैत्री हिमाली संगठनका अध्यक्ष आङ छिरिङ शेर्पाले जलवायु परिवर्तनले नेपाल लगायत अन्य विकासोन्मुख देशहरुलाई तुलनात्मक रुपमा बढी असर गरिरहेको बताउनुभयो । नेपालको हरित गृह ग्याँस उत्सर्जन दर अन्य देशको तुलनामा नगन्य भएता पनि जलवायु परिवर्तनका नकरात्मक असरहरुबाट अत्यन्त संवेदनशील रुपले प्रभावित हुने लक्षणहरु नेपालमा देखा परिरहेको उल्लेख गर्नुभयो । तापक्रम बृद्धि, पग्लिदो हिमाल र खुम्चिदो हिमनदी, बर्षा चक्रमा फेरवदल, कृषिजन्य उत्पादनमा ह्रास, जैविक विविधताको लोप, बढदो प्राकृतिक प्रकोप, मानव स्वास्थ्य इत्यादि असहरु जलवायु परिवर्तनले देखाएको औल्याउनुभयो । यसको निराकरणका लागि मानिसहरुले नै पहल गर्नु आवश्यक रहेको बताउनुभयो ।
यस्तै नेपाल शेर्पा संघका संघीय अध्यक्ष शेर्पाले नेपालका लोकतान्त्रिक वा कम्युनिष्ट राजनितिक पार्टी निर्माण र संघर्षमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तर आदिवासी जनजातिको मुक्तिका सवालमा स्थापित पार्टीले स्पष्ट विचार र दृष्टिकोण बनाउन नसकेको उहाँको भनाई छ ।
संघका महासचिव लाक्पा शेर्पाले कार्यपत्र प्रस्तुत गर्दै शेर्पा समुदायको राजनीतिक अधिकारको लागि आवाज उठाउन नेपाल शेर्पा संघको गठन भएको भन्दै आफ्नो भाषा, सांस्कृतिक र रामाजिक र धार्मिक बिषयहरुको नीति र विधिका बिषयमा छलफल गर्दै आएको र यसलाई कार्यान्वयनका लागि दबाब सिर्जना गर्दै आएको बताउनुभयो ।
