
सोलुखुम्बु । सोताङ गाउँपालिका वडा नम्बर २ खोप खर्कमा नवनिर्मित आधारभूत स्वास्थ्य भवन सञ्चालनमा आएको छ । आज (मंगलबार) एक औपचारिक कार्यक्रमका विच उत्घाटन गरिए सँगै आधारभूत स्वास्थ्य केन्द्रको भवन सञ्चालनमा आएको हो ।


नौ कोठा रहेको उक्त भवन कुल एक करोड चालिस हजार नौ सय सन्ताउन्न रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । शौचालय, हिल ट्याङ्की, बरन्डा, तार जाली र घेरा बार सहितको कम्पाउन्डमा फलामे गेट भएको आर सिसी पक्की भवनको निर्माण कार्य २०८१ पुस १० गते सम्पन्न भएको थियो । भवन निर्माण सम्पन्न भए सँगै वडाध्यक्ष श्याम कुमार खालिङको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख अतिथ्यतामा उत्घाटन गरिएको हो ।
उत्घाटन कार्यक्रमलाई सम्बेधन गर्दै वडाध्यक्ष खालिङले वडा नंं २ का नागरिकले आगामी दिनमा सहज रुपमा स्वास्थ्य क्षेत्रमा पहुँच राख्ने बताउनुभयो । साथै उहाँले स्थानिय सरकारले गर्नु पर्ने काम चेपेल फाउण्डेशनले गरिरहेको भन्दै फाउण्डेशनको प्रशंसा समेत गर्नु भयो । वर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी निर्माणका लागि डिपिआर तयार, फर्निचर व्यवस्थापन प्राविधिक खर्च चेपेल फाउन्डेशनले गरेको थियो ।
त्यस्तै स्वच्छ खानेपानी व्यवस्थापनका लागि ६ लाख २३ हजार ६ सय ९ रुपैयाँ बजेट विनियोजन भैसकेको चेपेल फाउण्डेशनका अध्यक्ष कार्मा शेर्पाले बताउनु भएको छ । नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन पश्चात वडा नम्बर २ का स्थानीयवासीले खुसी ब्यक्त गरेका छन् । नवनिर्मित भवनबाट आगामी दिनमा दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरूद्वारा सहज रूपमा स्वास्थ्य सेवा प्रवाह हुने वडा अध्यक्ष श्याम कुमार खालिङको बताउनु भयो ।
