
सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले खेल मैदान निर्माणका लागि ५० लाख खोसेर ल्याएको बताउनु भएको छ । अध्यक्ष बस्नेतले राष्ट्रिय योजना आयोगबाट लडाई झगडा मात्र गरेर नभई आफुले खोसेरै ल्याएको दावी गर्नु भएको हो ।
आज (मंगलबार) गाउँपालिकाद्धारा आयोजित अध्यक्ष कप तथा १५औं राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा सभाध्यक्षको आसनबाट बोल्दै उहाँले भन्नु भयो, मैले सोताङमा यस बर्ष खेल मैदान निर्माण गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र माननिय सदस्यहरु सँग लाडाई झगडा गरेर र खोसेरै ल्याएको छु । आफूले थप ५० लाख गरेर एक करोडको खेल मैदान निर्माण ठेक्का लाग्ने चरणमा रहेको जानकारी गराउनु भयो ।
त्यस्तै उहाँले वडा नं. ३ मा अघिल्लो सरकारले तय गरेको खेल मैदानको जग्गा कति ठिक थियो कति थिएन भन्दै आफूले स्थान परिवर्तनको जमर्को गरेको तर सार्थक किसिमको ठाउँ समयमा उपलब्ध नहुँदा आफूले त्यहीँ ठाउँलाई प्रयोग गरेर ५० बर्ष पछि सम्म टिक्ने प्याराफिट सहितको रङ्गशाला निर्माण गर्ने उद्घोष गर्नु भयो । साथै उहाँले आफ्नै कार्यकालमा उक्त खेल मैदान निर्माण सम्पन्न गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।


त्यसैगरी सबै विद्यालयलाई खेलकुद सामाग्रीमा प्रदान गर्नमा स्थानिय सरकारको तर्फबाट कुनै कन्जुस्याँई नहुने उल्लेख गर्नु भयो । नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहेका बस्नेतले खेल स्वास्थ्यका लागि मात्र नभई राष्ट्रका लागि समेत भएकाले सबै खेलाडीहरुलाई अनुशासीत र मर्यादीत भएर खेल्न अनुरोध गर्नुभएको छ ।
जिल्ला सम्मन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख अतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको विशिष्ट आतित्थ्यतामा उद्घाटन गरीएको तेस्रो अध्यक्षकप प्रतियोगितामा २४ टिम पुरुष, १० टिम महिला र पन्ध्रौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महिला पुरुष समान ५ टिमको सहभागिता रहेको छ ।
