Blog

  • सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार

    सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार

    सोलुखुम्बु ः सोलुखुम्बुु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाबाट एक सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका ६, मुक्ली निवासी वर्ष ३३ कि अमृता राईले CS द्वारा बिहीबार छोरालाई जन्म दिनु भएको थियो ।


    शिशुको अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौ लगिएको हो । राष्ट्रपति उद्वार कार्यम मार्फत नेपाली सेनाको हेलिकप्टरद्धारा उद्वार गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुुभयो । यस अघि पनि दुई नवजात शिशु सहित सुत्केरी आमाको हेलिकप्टर मार्फत उद्वार गरिएको प्रबक्ता कार्कीले बताउनु भयो ।

  • संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।

    संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।

    नेपाली कम्युनिष्ट पार्टीबाट सोलुखुम्बुका उमेदवार बन्नुभएका थुलुङ दुधकोशी गाउँपालिका निवर्तमान अध्यक्ष असिम राईले गाउँपालिकाबासी प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । माघ २ गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट दिनुभएको राजीनामा पत्रमा उहाँले आफूलाई दुई–दुई पटक अमूल्य मत दिई निर्वाचित गरिदिने सम्पूर्ण गाउँपालिकाबासीप्रति आभार व्यक्त गर्नुभएको हो ।

    आफ्नो कार्यकालभरी गाउँपालिकाको विकास र समृद्धिका लागि सहकार्य गर्ने उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, निर्वाचित जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कार्यरत सम्पूर्ण कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
    अध्यक्ष राईले आफ्नो पहिलो र दोस्रो कार्यकालमा गाउँपालिका र गाउँपालिकावासीको हितमा इमान्दारितापूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्नुभएको छ । अध्यक्ष पदमा नरहे पनि आगामी दिनमा गाउँपालिकाको विकास र समृद्धिको यात्रामा निरन्तर सक्रिय रहँदै अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
    नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुनको व्यवस्था बमोजिम उहाँले आफ्नो व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै माघ २ गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।

  • काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवार

    काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवार

    नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई नेपाली कांग्रेसले काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।कांग्रेस संसदीय बोर्डले युवा नेता शेर्पालाई काठमाडौं ३ मा उम्मेदवार बनाउने निधो गरेको हो ।

    कलेजको राजनीति गर्दासम्म सभापति गगन थापासँग निकट रहेका शेर्पा नेविसंघ केन्द्रीय अध्यक्ष बन्ने बेलामा भने शेरबहादुर देउवा समूहमा लागेका थिए । काठमाडौं ३ मा यसअघि कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए ।

  • वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान

    वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान

    सोलुखुम्बु। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा सुरक्षित, मर्यादित र सिपयुक्त श्रम आप्रवासनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तरक्रियात्मक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोलुदुधकुण्ड नगरपालिकाको कार्यालय, सल्लेरीमा आज सम्पन्न भएको हो।
    कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बनेका ५ जना श्रमजीवीहरूलाई सम्मान गरिएको छ। उनीहरूले विदेशमा आर्जन गरेको सिप, अनुभव र पूँजीलाई स्वदेशमै उपयोग गरी रोजगारी सिर्जना गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।
    “श्रम आप्रवासनका क्रममा सुशासन: सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, सुरक्षित वैदेशिक रोजगारी, श्रमिकका अधिकार तथा आप्रवासनलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
    कार्यक्रमको सभापतित्व ग्रहण गर्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू स्वदेश फर्किएपछि विदेशमा सिकेको सिपलाई व्यवहारमा उतारी देशमै स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षित र मर्यादित आप्रवासनमार्फत मात्रै श्रमिकको भविष्य सुरक्षित हुने बताउनुभयो।
    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, वैदेशिक रोजगारीसँग सम्बन्धित व्यक्ति तथा श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। छलफलका क्रममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सचेत, सुरक्षित र कानुनी प्रक्रिया अपनाएर जान प्रेरित गर्नुपर्नेमा जोड दिइएको थियो।
  • सोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोष

    सोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोष

    सोलुखुम्बु ः सोलुखुम्बुमा काङग्रेस भित्रको गुटगत राजनितिको अन्त्य भएको जिल्ला सभापती नाम्गेल जाङ्बु शेर्पाले बताउनु भएको छ । आसन्न निर्वाचनमा उम्मेदवार छनौटका लागि बसेको जिल्ला कार्य समितिको बैठकलाई सम्बोधन गर्दै शेर्पाले गुटको राजनिति अन्त्य भई सहमतिको राजनिति प्रारम्भ भएको उद्घोष गर्नुभएको हो ।
    सभापति शेर्पाले विगतमा निषेधको राजनितिले निराशाजन नतिजा दिएको भन्दै अब एक ढिक्का भएर पार्टीलाई अगाडी बढाउने धारणा राख्नु भयो ।
    आसन्न निर्वाचनमा उम्मेदवार छनौटका लागि काँग्रेस सोलुखुम्बुको जिल्ला कार्य समितिको बैठकमा दुवै समुहका नेताहरु सहभागी भएका छन् । पार्टी कार्यालय बसन्तबजारमा भएको बैठकमा केन्द्रिय सदस्य बलबहादुर केसी र अर्का केन्द्रिय सदस्य आङगेलु शेर्पा समुहका नेताहरु सहभागि भएका थिए ।
    जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय कार्य सम्पादन समिति सदस्य बलबहादुर केसी, पार्टीका केन्द्रिय सदस्य आङगेलु शेर्पा, पुर्व जिल्ला सभापति विनोद बस्नेत, छत्रध्वज बस्नेत लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

  • थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या

    थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या

    सोलुखुम्बु : जिल्लाको देउराली आधारभुत विद्यालय थुलुङ दुधकोशी- ७  बोगलकाे ३ काेठे भवनको शिलान्यास गरिएको छ । यस शैक्षिकसत्रबाट कक्षा वृद्धि गरेको उक्त विद्यालय भवनको गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो ।

    गाउँपालिका प्रवक्ता समेत रहनुभएका सोही वडाका अध्यक्ष भोजराज कार्कीका अनुसार वडाको रु.५ लाख र गाउँपालिकाको रु.९ लाखबाट उक्त भवन निर्माण हुनेछ । भौगोलिक हिसाबले कक्षा ६ अध्ययन गर्न १ घण्टा सम्मको यात्रा गर्नुपर्ने विद्यार्थीको बाध्यता र समस्यालाई ध्यानमा राखेर कक्षा वृद्धिको लागि पहल गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

    शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिकाको पहिलो प्राथमिकतानै शिक्षा रहेको बताउदै आवश्यकताको आधारमा विद्यालय मर्ज र थप गर्ने काम गरिरहेको बताउनुभयो । शैक्षिक सुधारको लागि विद्यालयका सरोकारवाला सबैको भुमिका उत्तिकै हुने भन्दै अध्यक्ष राईले स्थानीय सरकारको तर्फबाट कुनैपनि कसर बाकी नराखेकै कारण एसईई परीक्षामा ९९% विद्यार्थी उत्तीर्ण हुन सफल भएको बताउनुभयो ।

    कक्षा थप सम्बन्धि वडाले जायज प्रस्ताव ल्याएकाले अनुमति दिइएको भन्दै अध्यक्ष राईले भवन निर्माण पस्चात शिक्षक पनि व्यवस्थापन गरिने बताउनुभयो ।

    शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिका अध्यक्ष असिम राई र वडामा अध्यक्ष भोजराज कार्कीको टीमले नतिजा आउने गरि काम गरिरहेको र सोही अनुसार आफुहरुलाई प्रेरित गर्ने काम भैरहेको बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष राम संघर्ष किराँती, वडा सदस्य लिलामान तामाङ, अम्बिका नेपाली लगायतको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक उत्तम घिमिरेले जानकारी दिनुभयो ।

    २०५६ सालमा कक्षा वृद्धि गरी ७ कक्षा सम्म सञ्चालन भएपनि आर्थिक जुटाउन नसक्दा पुनः कक्षा ५ सम्म मात्रै संचालन भएको विद्यालयमा यस वर्ष देखि ६ कक्षा संचालन सुरु भएको छ । तत्कालीन अवस्थामा सरकारबाट सहयोग नभएकै कारण कक्षा घटाउनुपरेको अभिभावकको गुनासो छ । अब भने कक्षा ८ सम्म सञ्चालन हुनेमा अभिभावक ढुक्क छन ।

    सोही अबसरमा पर्यटन व्यवसायी चन्द्र बहादुर तामाङले उपलब्ध गराउनुभएको स्टेसनरीका सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

  • थुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरण

    थुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरण

    जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनमा २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राई र स्थानीय समाजसेवी तथा निर्माण व्यवसायी बेदराज थापाको निजी आर्थिक सहयोगमा करिब २ सय २० जना नागरिकलाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

    चिसो मौसम सुरु भएसँगै लक्षित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शनिबार वडा कार्यालयमा एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो ।


    वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दहालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा न्यायो कपडा वितरण गरिएको हो । न्यानो कपडा प्राप्त गरेपछि लक्षित समुहका नागरिक हर्षित हुँदै दातालाई धन्यवाद दिएका छन ।

     

     

  • रामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमण

    रामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमण

    भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राई नेतृत्वको टोली शैक्षिक अवलोकन अध्ययन भ्रमणमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका आएको छ । सोमबार थुलुङ दुधकोशी आएको टोली मंगलबार फर्केको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

    सोमबार गाउँपालिका अध्यक्ष असिम राईले पालिकाले शिक्षा क्षेत्रमा गरेको विभिन्न गतिविधिका सम्बन्धमा जानकारी गराउनुभएको थियो । शैक्षिक सम्मेलन देखि २१ बुद्धे परिमार्जित स्वेत पत्र जारी गरिएको र विभिन्न सहयोगि संस्था संगको सहकार्य लगायतको बारेमा अध्यक्ष राईले टोलीलाई जानकारी गराउनुभएको थियो । पालिका प्रवक्ता भोजराज कार्कीका अनुसार शैक्षिक उन्नयनका लागि प्रोत्साहित गराउन उत्कृष्ट विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई पुरस्कार देखि प्रधानाध्यापकलाई थप भत्ता लगायतको व्यबस्था गरिएको लगायत पालिका भित्रका सबै शैक्षिक गतिविधिका बारेमा जानकारी गराइएको छ ।

    पालिका अध्यक्ष असिम राईको प्रस्तुतीकरण पश्चात टोलीले मंगलबार वडा नम्बर ६, ७ र वडा नम्बर १ को विभिन्न विद्यालयमा भ्रमण गरेको छ । भ्रमण पश्चात रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राईले थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको कार्य अनुकरणीय रहेको बताउँनुभयो । गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत अन्य प्रधानाध्यापक सहित उपस्थित हुनुभएका पालिका अध्यक्ष राईले थुलुङ दुधकोशी गाउँपालिकाको शैक्षिक कार्यले रामप्रसादराई गाउँपालिकाको शैक्षिक परिवर्तनमा महत्वपुर्ण सहयोग पुग्ने बताउँनुभयो ।

    २०८१ सालको एसईई परीक्षामा थुलुङ दुधकोशी गाउँपालिकाले सत प्रतिशत नतिजा ल्याउन सफल भएको पाइएकाले अध्ययन भ्रमणका लागि कार्यपालिकाले निर्णय गरेर थुलुङ दुधकोशी छनौट गरिएको अध्यक्ष राईले बताउँनुभयो । शिक्षा बिनाको विकास अधुरो हुने भन्दै अध्यक्ष राईले शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि थुलुङ दुधकोशी गाउँपालिकाले गरेको कार्य अन्य स्थानीय सरकारको लागि पनि सिकाईको माध्यम बन्ने बताउँनुभयो ।
    शैक्षिक अवलोकन अध्ययन भ्रमण सकेर उक्त टोली मंगलबार फर्केको छ ।

  • ज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण

    ज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण

    सोलुखुम्बु जिल्लाको धार्मिक तथा पर्यटकीय दृष्टिले संवेदनशील रहँदै आएको ज्वालामाई मन्दिर र पिके डाँडा क्षेत्रमा लामो समयदेखि निरन्तर देखिँदै आएको मोबाइल नेटवर्क समस्याले अन्ततः सरकारको ध्यानाकर्षण गराइएको छ । स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले सूचना तथा सञ्चार सेवामा सुधारको अपेक्षा राख्दै सरोकारवालाहरुको एक टोलीले आज शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर सञ्चारमन्त्री जगदीश खरेललाई औपचारिक रूपमा निवेदन पेश गरेका छन् ।

    विख्यात आरोही स्पीडकाजी शेर्पा नेतृत्वमा गएको टोलीको पत्र बुझ्दै मन्त्री खरेलले उक्त विषयलाई प्राथमिकताका साथ हेर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीयहरूले बुझाएको निवेदनमा सोलुदुधकुण्ड नगरपालिका–३ का धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा नेपाल टेलिकमको मोबाइल सञ्जाल अत्यन्त कमजोर रहेकाले दैनिक जीवन, सुरक्षा, आपतकालीन सेवासमेत प्रभावित भएको उल्लेख छ। पिके डाँडा र ज्वालामाईमा निजी सेवा प्रदायकको सञ्जाल सक्रिय नभएकाले स्थानीय, व्यवसायी र पर्यटक सबैजना नेपाल टेलिकमकै सेवामा निर्भर रहनुपर्ने अवस्था छ । तर टेलिकमकै सञ्जाल टुट्ने, नचल्ने र समयमा काम नगर्ने समस्या वर्षौँदेखि निरन्तर देखिँदै आएको जनाउँदै स्थानीयले टावर निर्माणका लागि आवश्यकता अनुसारको जग्गा उपलब्ध गराइसक्दा पनि काम अघि नबढेको गुनासो गरेका छन् ।

    मोबाइल सेवा कमजोर हुँदा तीर्थयात्री, पदयात्री र विदेशी पर्यटकलाई यात्रा व्यवस्थापनदेखि समन्वयसम्म गम्भीर कठिनाइ परेको विख्यात आरोही स्पीडकाजी शेर्पाले बताए । पिके डाँडा जस्तो दृश्यावलोकनका लागि चर्चित स्थानमा फोन सम्पर्क नहुँदा आपतकालीन अवस्थासमेत जोखिमपूर्ण बन्ने गरेको स्थानीयहरूको अनुभव छ । यस्तै, केही वर्षअघि पिके डाँडामा नेटवर्क उपलब्ध नहुँदा एक पर्यटकले ज्यान गुमाउनुपरेको घटना पनि स्थानीयको स्मृतिमा ताजा छ । यसले सो क्षेत्रमा विश्वसनीय सञ्चार सेवाको आवश्यकतालाई अझ स्पष्ट बनाएको स्थानीय इन्दु रेग्मी मगरको भनाइ छ । निवेदन बुझाएपछि सञ्चारमन्त्री खरेलले समस्या समाधानका लागि नेपाल टेलिकम र सम्बन्धित निकायलाई तत्काल पहल गर्न निर्देशन दिएका छन् । उनले सोलुखुम्बु विश्वपरिचित गन्तव्य भएको भन्दै धार्मिक र पर्यटकीय महत्व भएका क्षेत्रमा सञ्चार सेवा सहज र भरपर्दो बनाउन सरकार गम्भीर रहेको स्पष्ट पारे । मन्त्री खरेलले भने, “सोलुखुम्बु जस्तो अन्तर्राष्ट्रिय पहिचान बोकेको क्षेत्रमा सञ्चार सेवा कमजोर हुनु स्वीकार्य हुन सक्दैन। सेवा सुधारका लागि आवश्यक कार्यवाही अघि बढाइनेछ ।” मन्त्रीको प्रतिक्रियापछि स्थानीयवासीले वर्षौँदेखि लम्बिँदै आएको समस्यामा अब समाधानको आशा पलाएको बताएका छन् ।

    पिके डाँडा र ज्वालामाई क्षेत्र वर्षेनी हजारौँ पर्यटक र धार्मिक यात्रुहरू आकर्षित गर्ने स्थलहरू हुन्। हिमश्रृंखलाको मनोरम दृश्य, पदयात्रा मार्ग, स्थानीय संस्कृतिको सौन्दर्य र धार्मिक महत्वले यहाँको आकर्षण बढाइरहेको छ । तर विश्व–पर्यटकीय सम्भावना बोकेको क्षेत्रमा सञ्चार सेवा जस्ताको त्यस्तै रहँदा पर्यटन प्रवद्र्धनदेखि जनजीवनसम्म प्रभावित हुँदै आएको छ । व्यवसायी, होटल–होमस्टे सञ्चालक र स्थानीय सेवाहरू फोन सम्पर्कमा निर्भर हुने भएकाले नेटवर्क अवरोधले आन्तरिक व्यवस्थापनलाई समस्या पार्ने गरेको छ । ४२ सय मिटरको उचाइमा पर्ने पिके डाँडाबाट सगरमाथा सहित ८ हजार मिटरभन्दा माथिका विभिन्न हिमशृङ्खलाहरू नजिकबाट निकाल्न सकिन्छ । समस्या समाधानका लागि मन्त्रालयमार्फत टेलिकम सक्रिय भएपछि अब ज्वालामाई र पिके क्षेत्रमा सञ्चार पूर्वाधारका काम तीव्र रूपमा अघि बढ्ने, टावर निर्माण पुनः सुरु हुने र मोबाइल सेवा स्थायी रूपमा सुधारिने अपेक्षा गरिएको छ ।

  • सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह

    सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह

  • कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो

    कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो

    भक्तपुर, भदौ ५

     पाठ्यक्रम विकास केन्द्रले कक्षा १० को अनिवार्य सामाजिक अध्ययन विषयको पाठ्यपुस्तकमा रहेको एउटा महत्त्वपूर्ण ऐतिहासिक मिति सच्याएको छ। केन्द्रले मंगलबार एक सूचना जारी गर्दै वि.सं. २००७ सालको क्रान्तिलाई सहयोग गर्न राजा त्रिभुवन दिल्ली प्रस्थान गरेको मिति गलत भएको ठहर गर्दै त्यसलाई सच्याउन सबै शिक्षण संस्थाहरूलाई आग्रह गरेको हो।

    केन्द्रका अनुसार २०८० सालमा तयार भई कार्यान्वयनमा रहेको कक्षा १० को सामाजिक अध्ययन पाठ्यपुस्तकको एकाइ ७, पाठ १ अन्तर्गत पृष्ठसंख्या १७७ मा रहेको ‘दिल्ली सम्झौता’ शीर्षकमा राजा त्रिभुवनले स-परिवार भारतीय दूतावासमार्फत दिल्ली प्रस्थान गरेको मिति वि.सं. २००७ साल कात्तिक २३ गते भनेर उल्लेख गरिएको थियो।

    उक्त मितिबारे प्राप्त रायसुझाव र आधिकारिक अभिलेखका आधारमा खोजी गर्दा राजा त्रिभुवन दिल्ली प्रस्थान गरेको वास्तविक मिति कात्तिक २६ गते भएको पुष्टि भएको केन्द्रले जनाएको छ।

    पाठ्यक्रम अधिकृत कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “दिल्ली प्रस्थान गरेको मिति वि.सं. २००७ साल कात्तिक २६ गते पुष्टि भएकाले पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षणसिकाइ क्रियाकलाप गर्न गराउनुहुन निर्णयानुसार अनुरोध छ।”

    केन्द्रले अबदेखि सबै विद्यालयहरूलाई यही नयाँ र आधिकारिक मितिलाई आधार मानेर पठनपाठन गराउन निर्देशन दिएको छ।