
साेलुखुम्बु। सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।


विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन् । नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि गएका छन् । विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।
सगरमाथाबाट मात्रै ३१ करोड ६९ लाख ८६ हजार २८ रकम उठेको छ । हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीनसय ९८ गरी कूल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन् । आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ । आइसफलका डाक्टरहरुले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ । असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रशंसा व्यक्त गरेको छ ।
