GaukoKhabar

कुलुङ जातिको महान् चाड चाक्चाकुर सुरु, विभिन्न कार्यक्रमका बिच भव्यताको साथ मनाइदै ।

सोलुखुम्बु। कुलुङ जातिहरूको महान् चाड चाक्चाकुर सोम्बार देखि सुरु भएको छ । प्रत्येक वर्षको पुस १५ देखि सुरु हुने यो चाड कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म भव्य रूपमा मनाउने गरीन्छ ।
चाक्चाकुरमा सबै गाउँभरीका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरीन्छ । कुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सघंको स्थापनाका रूपमा मिनारी दाचाम्री चाकचाकुर भनेर मनाउने गरीन्छ । कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ । दाचाम्को अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नयाँ वर्ष र चाक्चाकुरले चासुम् अर्थात अन्नको सह तथा पुस महिनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पूज्नु नै मिनारी दाचाम निङदोङ फाइम चाक्चाकुर हो ।
देशभर चाक्चाकुर पर्वलाई मनाउने सुरुवात नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघ, केन्द्रीय कार्य समितिको पहलमा २०६२ बाट थालिएको कुलुङ संघले दाबी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखुम्बु, भोजपुर, संखुवासभा, इलाम, धनकुटा, लगायतका जिल्लामा भव्यताको साथ चाक्चाकुर मनाउँदै आइएको छ । त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ ।

यसैविच, कुलुङ जातिहरुको महान् चाडको रूपमा लिइने चाक्चाकुरको अवसर महाकुलुङ गाउँपालिका बुङ १ मा विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको छ । पौष १५ गते (सोम्बार) देखि हुने कार्यक्रममा अन्तर वडा स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता, एकल ट्रयाक गायन प्रतियोगिता र युगल नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमश. नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ । महिला तर्फ भने क्रमश. नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयोजक राजनमान कुलुङले जानकारी दिनुभयो । त्यस्तै एकल ट्रयाक गायन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगीलाई क्रमश. नगद २ हजार ५ सय, २ हजार,
एक हजार पाँच सय, एक हजार र पाँच सयको साथमा प्रमाण पत्र प्रदान गरिने छ । युगल नृत्य प्रतियोगिता तर्फ भने नगद ४ हजार, ३ हजार २ हजार र एक हजार रुपैयाँको साथमा प्रमाण पत्र प्रदान गरिने छ । चाक्चाकुर पर्वलाई लक्षित गरी महाकुलुङ गाउँपालिका स्थानिय सरकारले ३ दिन सम्म सार्वजनिक बिदा समेत दिएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.