
सोलुखुम्बु। राजावादी समुहको आन्दोलनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा पत्रकार सुरेश रजकको हत्या विरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले विरोधको कार्यक्रम आयोजना गरेको छ । शुक्रबार तिनकुनेमा भएको आगजनीले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर हत्या गरेको भन्दै विरोधको आयोजना गरेको हो।
नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले सल्लेरीस्थित महासंघ कार्यालय परिसरमा विरोध सभा आयोजना गरी यथास्थितिको विरोध तथा न्यायको माग गरेको छ। आयोजित विरोधसभामा उपस्थित पत्रकार तथा सरोकारवालाहरूले उक्त घटनालाई “लोकतन्त्रमाथि गरिएको प्रत्यक्ष आक्रमण” भन्दै दोषीहरूविरुद्ध कठोर कारबाहीको माग गरेका छन् । सहभागीहरूले रिपोर्टिङमा संलग्न निर्दोष पत्रकारमाथि क्रुरतापूर्वक ज्युदै जलाएर हत्याको घटनाले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई थप खतरामा पारिएको बताईएको छ ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले विज्ञप्ति मार्फत भनेको छ, “यदि यस्ता घटनामा दोषीहरूलाई उचित कानुनी कारबाही नगरिएमा भविष्यमा पत्रकारितामा संलग्न हुनु सहज हुने छैन। हामी यो प्रकरणको पूर्ण निष्पक्ष छानबिन र दोषीहरू विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दछौं।” यस घटनाका सम्बन्धमा छानबिनको उचित प्रक्रिया अघि बढाउनुका साथै सञ्चारकर्मीहरूलाई सुरक्षित कार्य वातावरण उपलब्ध गराउन तत्काल कदम चाल्न सरकार र सरोकारवालाहरूलाई अपिल गरिएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी सदस्य अमृता विश्वकर्मा, जिल्ला अध्यक्ष सुवास दर्नाल, संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ, उपाध्यक्ष गार्डेन राई, कोषाध्यक्ष अमृत थुलुङ र सदस्यहरु सुनिल गुरुङ तथा प्रविण राई साथै प्रेस युनियनका केन्द्रीय सदस्य भानुभक्त निरौला लगायत एक दर्जन बढी पत्रकारहरुको उपस्थिति उपस्थिति रहेको थियो ।


