GaukoKhabar

हिमाली जिल्ला सोलुखुम्बुमा आधारभूत पत्रकारिता तालिम सुरु

सोलुखुम्बु, हिमाली जिल्ला सोलुखुम्बुमा पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारिता पेशालाई अझ व्यावसायिक, उत्तरदायी र जनमुखी बनाउने लक्ष्यसहित नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा बिहीबारदेखि पत्रकारिता तालिम सुरु भएको हो ।


तालिमको औँपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले ब्यानर पढेर गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ घिमिरेले भन्नुभयो, “तालिमले सिकाएका सीपहरू कापीको पाना वा प्रमाणपत्रको फ्रेममा मात्र बन्द नहोस्, व्यवहारमा देखियोस्। पत्रकारितामा इमान, सत्य र निष्पक्षता नै मूल्य हुन्, त्यसैले सिकेको प्रयोग गरौं, समाज परिवर्तन गरौं ।”
उहाँले पत्रकारलाई राज्यको चौथो अङ्ग भनेर परिभाषित गर्दै यसको जिम्मेवारी भनेको ‘जनताको आवाजलाई राज्यसम्म पु¥याउने सेतु’ भएको बताउनुभयो । प्रजिअ घिमिरेले तालिम पश्चात सिकेको सिपलाई सदुपयोग गर्न पनि प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले पत्रकारिता जगत समाज परिवर्तनको आधारशिला भएको बताउनुभयो । “पत्रकारिता समाचार लेख्ने र पढ्ने अभ्यास मात्रै होइन, यो परिवर्तनको बिउ हो । समाजमा हुने अन्याय, अत्याचार, विकृति र विसङ्गति विरुद्ध कलम चलाउने साहस पत्रकारिता हो ।”, उहाँले भन्नुभयो ।
अध्यक्ष दर्नालले तालिममार्फत नयाँ पुस्तामा सामाजिक उत्तरदायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो । तालिम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा सञ्चालन गरिएको हो । तालिममा २५ जना प्रशिक्षार्थीको सहभागीता रहेको महासंघका कोषाध्यक्ष अमृत थुलुङले जानकारी दिनुभयो । सहभागीहरू जिल्लाका विभिन्न ठाउँबाट आएका छन् । एक सहभागी लक्ष्मी जोशीले भन्नुभयो, “म रेडियोमा स्वर दिन्थेँ, तर समाचार लेख्न डर लाग्थ्यो ।
यो तालिमले मलाई आत्मविश्वास दिएको छ ।” पाँच दिने तालिममा पत्रकारिताको सैद्धान्तिक पक्षसँगै समाचार लेखन, फोटो पत्रकारिता, स्रोतको पुष्टि, समाचारमा सन्तुलन, रेडियो रिपोर्टिङ, अनलाइन पत्रकारिता र सामाजिक सञ्जालको सदुपयोगजस्ता समसामयिक विषयवस्तु समेटिएको छ । प्रत्येक दिन चारवटा सत्र सञ्चालन हुनेछन् । तालिमको समापन आसन्न सोमबार (असार १६ गते) गरिनेछ । समापन समारोहमा प्रशिक्षार्थीहरूद्वारा समाचार प्रस्तुति, अनुभव साझेदारी र प्रमाणपत्र वितरण हुने कार्यक्रम तय गरिएको छ ।
सोलुखुम्बुमा सञ्चार माध्यमको उपस्थिति विस्तार हुँदैछ । जिल्लामा तीन वटा एफएम रेडियोहरू, अनलाइन मिडियाहरू सञ्चालनमा छन् । तर तालिम बिना मिडिया चलाउने प्रवृत्ति बढ्दो छ । यसकारण व्यावसायिक, उत्तरदायी र विवेकशील पत्रकारिताको खाँचो झनै बढेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.