
सोलुखुम्बुः सोताङ गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा विभेद गरेको पाइएको छ । आगामी माघ १५ गतेदेखि सुरु हुने प्रतियोगितामा महिला खेलाडीलाई भन्दा पुरुष खेलाडीलाई बढी प्राथमिकता दिएको देखिएको हो ।


गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार पुरुषतर्फ प्रथम पुरस्कार ७५ हजार र दोस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । यता महिलातर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ र दोस्रो पुरस्कार ३० हजार रुपैयाँ मात्र रहेको छ । पुरुष तर्फ द्वितीय पुरस्कार ५० हजार रुपैयाँ छ भने महिला तर्फको द्वितीय पुरस्कार ३० हजार रुपैयाँ राखिएको गाउँपालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।

त्यसैगरी पुरुष भलिबल प्रतियोगिताको तृतीय र सान्त्वना पुरस्कार राशि क्रमशः ३० हजार, २० हजार रुपैंयाँ रहेको छ । उता महिला तर्फ तृतीय र सान्त्वना पुरस्कार राशि क्रमशः २० हजार र १० हजार रुपैयाँ तोकिएको छ । बिरेन्द्र ज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा एउटै नियममा आधारित रही खेल खेलाइने भए पनि महिला र पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा भने फराकिलो अन्तर पाइन्छ ।
मिति २०८१/१०/४ गते गाउँपालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख भए अनुसार, समग्रमा महिलातर्फको पुरस्कार राशि एक लाख रहेको छ भने पुरुषतर्फको पुरस्कार राशि एक लाख ७५ हजार रुपैयाँ रहेको छ । महिला र पुरुष भलिबल प्रतियोगितामा महिलाहरुलाई समग्रमा पुरुषको तुलनामा ७५ हजार रुपैयाँ कम पुरस्कार राखिएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध समेत जनाएका छन् ।
यस विषयमा हामीले सोताङ गाउँपालिकाका खेल संयोजक उत्तम प्रसाद नाछिरिङलाई महिला र पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा किन विभेद भनेर सोधेका छौं । उहाँले भन्नु भयो “विशेषतः आर्थिक नै हो । हामीले पुरस्कार मात्र हैन खेल प्रतियोगिता पनि विगतको तुलनामा कटौती गरेका छौं । अहिलेनै त समान पुरस्कार राशि दिलाउने अवस्था छैन । कार्यपालिकाले निर्णय गरी सक्यो आगामी दिनमा सोचौंला ।”
त्यस्तै हामीले गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतलाई तपाई स्थानीय सरकारको प्रमुख भएर महिला र पुरुष खेलाडीलाई हेर्ने नजर फरक देखियो । एउटै नियम र एउटै प्राङ्गणमा खेलाउनु हुने खेलमा महिला पुरुष पुरस्कार राशिमा किन विभेद गर्नु भएको भनेर सोधेका थियौं । उहाँले भन्नु भयो “मैले एक पटक समान पुरस्कार राशिमा खेल खेलाएको थिएँ । तर पुरुषको तुलनामा महिलाबाट खेलको त्यति उत्कृष्टता नआउने भएकोले पुरस्कार राशि फरक गरिएको हो ।” त्यस्तै, अब खेल सुरु हुन अझै एक हप्ता बढी छ । पुरस्कार राशि समान बनाउन सकिने अवस्था छ की छैन भनेर सोधेका थियौं उहाँले सकिदैन भनेर जवाफ दिनुभयो ।
यसैबीच हामीले यो विषयमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरलाई महिला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा किन विभेद गरिन्छ भनेर सोधेका छौ । सोही क्रममा उहाँले भन्नु भयो “हामीले कहिल्यै पुरस्कार राशिमा महिला पुरुष विभेद गरेका छैनौ । र गर्नु पनि हुँदैन । साथै हामीले प्रत्येक पालिकालाई महिला पुरुष बिचको छुट्टा छुट्टै खेल आयोजना गर्दा समान रूपमा पुरस्कार राशि राख्न परिपत्र गरेका छौं । अब स्थानिय सरकार आफैमा आयोजक पनि र सरकार पनि भएको हिसाबले हामीले भन्ने ठाउँ रहन्न ।”
गत पौष २५ गते थुलुङ दुधकोसी गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार समान रूपमा वितरण गरेको थियो । यसैगरी आउँदो माघ ३० गते देखि माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा हुन लागेको अध्यक्षकप तथा राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको जुनसुकै विधाको खेलमा महिला पुरुषको पुरस्कार राशी समान हुने आयोजकले जनाएको छ ।
