GaukoKhabar

सर्वसाधारणबाट उठाइएको ८५ लाख बढी रकम करीव एक वर्ष देखि पालिका अध्यक्षको खातामा

सोलुखुम्बु ः महाकुलुङ गाउँपालिकाका स्थानिय जनताबाट उठाईएको ८५ लाख बढी रकम एक वर्ष देखि गाउँपालिका अध्यक्षको खातामा रहेको पाइएको छ । राष्ट्रिय प्रशारण लाइन जडानका लागि आवश्यक मिटर बक्स खरिद गर्ने भनि २४ सय ३३ विद्युत उपभोक्ताबाट उठाइएको ८५ लाख १५ हजार ५ सय रुपैया करीव एक वर्ष देखि पालिका अध्यक्षको व्यक्तीगत खातामा रहेको पाइएको हो ।
गत आ.व. २०८०÷०८१ को पौष महिना ५ गते बसेको कार्यपालिकाको वैठकमा अध्यक्ष स्वयमले रकम संकलनका लागि प्रस्ताव पेश गरेका थिए । महाकुलुङ गाउँपालिका भित्रको विद्युतको समस्यालाई मध्यनजर गर्दै सबै कार्यपालिका सदस्यले उक्त प्रस्तावलाई अनुमोदन गरेका थिए । लगत्तै गाउँपालिकाले प्रत्येक वडालाई उक्त रकम संकलनका लागि निर्देशन गरेको थियो ।

उल्लेखित पत्रमा तीन हजार संकलन गर्ने पत्र भएपनि केही समय पछि पालिकाको ठाडो निर्देशनमा प्रत्येक वडाले प्रति घर तीन हजार पाँच सयका दरले रकम संकलन गरेको थियो । उक्त रकम संकलन पश्चात मिति २०८० साल माघ महिना ०७ गते गाउँ कार्यपालिका उपाध्यक्ष विपना कुलुङको अध्यक्षतामा कार्यपालिकाको बैठक बसी नेपाल विद्युत प्राधिकणको खातामा राजस्व जम्मा गरी मिटर बक्स ढुवानी गर्ने निर्णय गरेको पाइन्छ ।

यसरी योजना बद्ध ढङगले महाकुलुङवासी २४ सय ३३ घरपरिवारबाट संकलन गरिएको ८५ लाख १५ हजार ५ सय रुपैयाँ हाल सम्म पालिका अध्यक्षकै खातामा रहनु निन्दनिय विषय हो । यो विषयमा हामीले गाउँपालिका अध्यक्ष सुर्य बहादुर राई सँग जिज्ञासा राखेका थियौं ।
जस क्रममा उहाँले भन्नु भयो, “हामीले काम गर्दा गर्दै अकस्मात म विरामी भए । हस्पिटल भर्ना नै हुनु पर्यो । केही समय पछि प्रमुख प्रसाशकीय अधिकृत रुपमा नविन गोले आउनु भयो । उहाँले कार्यन्वयन गर्न मान्नु भएन । जसले गर्दा हामीले तत्काल काम गर्न सकेनौ । अनि विद्युत प्राधिकरणमा पनि सबै रकम एकै पटक जम्मा गर्न नमिल्ने रहेछ । त्यही भएर रकम स्थानियबाट उठाई हालियो । तत्काललाई मेरै खातामा जम्मा गर्नुहोस भने । अहिले मै सँग छ । केही जम्मा गरी सकेको पनि छु । बाँकी प्रक्रियागत रुपमा जम्मा गर्ने छु र पाँच सय ओटा मिटर बक्स पालिकामा पुगी सकेको छ ।”
त्यस्तै केही जनमानसमा वडा नं. १ र ३ का वडाध्यक्षलाई दुई सय तपाईहरुनै राख्नुस भन्ने कुरा सुनेका थियौ । सोही विषयलाई पुष्टि गर्न अध्यक्षलाई हामीले तपाईको पार्टी निकट अध्यक्षहरु १ र ३ लाई दुई सय रुपैंयाँ चाहीँ तपाईहरुले नै राख्नुस है भन्नु भएछ ? किन भनेर सोधेका थियौं ।
उहाँले भन्नु भयो, “यो जडान खर्च स्वरुप प्राविधिक खर्च हो । यो उपभोक्ताकै खातामा जाने पैसा हो । तर वार्डअध्यक्षहरुले जम्मा गर्दिनु भएछ।”
यसैगरी उक्त पालिकामा केही समय अगाडी वडा नं. २ का अध्यक्ष प्रदिप राईको अध्यक्षतामा सामुदायिक ग्रामीण विद्युतीकरण वितरक संस्था समेत गठन गरिएको छ । संस्थाका प्रशासन सहायक महेश कुलुङसँग हामीले जानकारी लिँदा गएको पौष ८ गते १० दिन भित्रमा प्रत्येक वडाबाट संकलन गरिएको रकम जम्मा गरी भौचर उपलब्ध गराउन पत्र काटेको तर १० दिन बिति सक्दा पनि रकम जम्मा नभएको जानकारी दिनुभयो ।

यसैविच, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्लेरी सोलुखुम्बुमा पनि यस विषयमा हामीले चासो राखेका थियौं । कार्यलय प्रमुख आस्वेशर कुमार यादबका अनुसार जम्मा ३ हजार २ सय ओटा मिटर बक्स माग गरिएको छ । पाँच सय ओटा पठाई सकेको जानकारी दिए ।
हामीले उक्त ५ सय ओटा मिटर बक्स कुन प्रक्रिया पुरा गरी कति रुपैंयाको दरले पठाउनु भयो र बाँकी कहीले पठाउनु हुन्छ ?, भनि राखेको जिज्ञासामा उहाँले आनाकानी गर्दै खास्सै चित्त बुझ्दो जवाफ दिनु भएन । उहाँले भन्नु भयो । “हामी खुद्रा व्यापारी होइन बिराटनगरमा ३२÷३३ सय पर्छ होला । प्रदेश कार्यालयमा पैसा जम्मा गरेपछि सबै उपलब्ध हुन्छ । अध्यक्ष ज्यु (महाकुलुङ गा.पा.) विराटनगर जानुभएको छ । पैसा जम्मा गरेपछि आउछ ।”
यसैगरी हामी प्रत्येक वडाका जनप्रतिनिधि समक्ष पनि पुग्ने प्रयास गरेका छौं । जस अन्तर्गत महाकुलुङ गाउँपालिका वडा नं. १ अध्यक्ष पर्खिधन राईलाई यस विषयमा जानकारी गराउन अनुरोध गरेका थियौं ।
उहाँले मुसुक्क हाँस्दै भन्नु भयो “विना योजनाको काम यस्तै हुन्छ । पालिकामा विद्युतको एकदमै समस्या थियो । त्यसैकारण पालिकाकै निर्देशनमा मैले ६ सय ६६ घरबाट ३५ सयका दरले जम्मा २३ लाख ३१ हजार रुपैयाँ संकलन गरें । लगत्तै अध्यक्ष ज्यु विरामी हुनु भयो । केही समय काठमाडौनै रहनु भयो । मैले के गर्ने भनी सोद्धा केही समयलाई तपाई सँगै राख्नुस भन्नु भयो । रकम संकलन गरेको करीव सात महिना पछि पालिका अध्यक्ष ज्युले मेरो खातामा हाल्दीनु भन्नु भयो र मैले जम्मा गरी दिएँ । पहिलो कुरात हामीलाई तत्कालीन प्रमुख प्रसाशकीय अधिकृत नविन गोले सरले काम गर्न दिनु भएन । अहिले निमित्त प्रमुख प्रसाशकीय अधिकृत खरिधन सर हुनुहुन्छ । हामीले कार्ययोजना बनाई काम अघि बढाएका छौं ।”
त्यस्तै हामीले वडा नं. २ का अध्यक्ष प्रदिप राई सँग पनि जिज्ञासा राखेका थियौ ।
उहाँले भन्नु भयो, “मेरै अध्यक्षतामा सामुदायिक ग्रामीण विद्युतीकरण वितरक संस्था गठन गरेका छौं । खाता खोली स्थानिय सर्वसाधारणबाट उठाइएको रकम यथासीघ्र जम्मा गरी दिन भनेका थियौ । हाम्रो प्रसाशन सहायक महेस कुलुङ हुनुहुन्छ । उहाँबाट जानकारी लिनुस्न है । मेरो वडाबाट चाहीँ मैले १४ लाख ८४ हजार पालिकाकै निर्देशनमा संकलन गरी अध्यक्ष ज्युको खातामा जम्मा गरेको छु । हामी सबै(वडाध्यक्षहरु)ले पालिका अध्यक्ष ज्युकै खातामा जम्मा गरेका हौ”
यसैगरी वडा नं. ३ का अध्यक्ष दुर्गा बहादुर राईले भन्नु भयो “मैले ३ हजार ५ सयको दरले ७१७ घरधुरीबाट २५ लाख ९ हजार ५ सय संकलन गरेको थिएँ । जसमा अध्यक्ष ज्युले प्रति घर फर्म वापत एक सय रुपैंयाँ र जडान खर्च वापत एक सय रुपैंयाँ चाहीँ तपाईले नै राखि राख्नुस भन्नु भएको थियो । तर मैले एक रुपैंया पनि राखिनँ । सबै उहाँकै खातामा जम्मा गरीदीएको छु । अरु कुरा थाहा छैन”
यसैविच हामीले महाकुलुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सरस्वती कुलुङ समक्ष विस्तृत जानकारी लिन खोजेका थियौं ।
उहाँले भन्नु भयो “हाम्रो पालिकामा केन्द्रिय प्रसारण लाईन आई सकेको थियो । त्यही समयमा पालिका अध्यक्ष ज्युले प्रस्ताव ल्याउनु भयो । गाउँमा बत्तीको समस्या पनि थियो । त्यसैले हामीले अघिल्लो पौष ५ गते कार्यपालिकाको बैठकबाट ३ हजारको दरले रकम संकलन गर्ने निर्णय गरेका थियौं । तर उहाँले(अध्यक्ष) विद्युत प्राधिकरण सँग या कहाँ बुझेर थप पाँच सय बढी उठाउन ठाडो निर्देशन गर्नु भयो । सोही अनुसार मैले ३६० घरको १२ लाख ६० हजार रुपैयाँ एक महिना भित्र संकलन गरी पालिकालाई बुझाएको छु । मैले यो विषयमा वारम्वार प्रश्न उठाउँदा पनि कहिल्यै चित्त बुझ्दो जवाफ पाइएको छैन । हाम्रो कुरालाई वास्ता नगरीएको अवस्था छ।”
कतिपय जनप्रतिनिधिले रकम जम्मा गरेको कुनै आधार तथा प्रमाण समेत नभएको बताई रहँदा वडा नं. ४ का अध्यक्ष सरस्वती कुलुङले भने ०८० माघ महिनाको १६ गतेका दिन पालिकामा रकम जम्मा गरी आधिकारीक रुपमा प्रमुख प्रसाशकीय अधिकृतलाई जानकारी गराउनु भएको पत्र समेत उपलब्ध गराउनु भएको छ ।

यसैगरी वडा नं. ५ का अध्यक्ष महल सिं कुलुङ सँग हामीले बुझदा पालिकाकै निर्देशनमा आफूले २६६ स्थानियबाट ९ लाख ३१ हजार रकम संकलन गरेको जाकारी दिनुभयो । रकम संकलन गरी सके पछि पालिकाको खातामा जम्मा गर्न नमील्ने भएकोले उहाँले मेरै खातामा राखौं भन्ने प्रस्ताव गर्नु भयो । त्यसैले उहाँलाई नै बुझाएँ । अहीले मै माथी विविध आरोप र लान्छाना लगाउने काम भई रहेको छ । यथासीघ्र काम गर्नु पर्ने छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.