
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा ४७ किलोमिटरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। पालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको म्याराथन एभरेस्ट दुधकोशी कल्चरल ट्रेलको रुटमा संचालन गरिएको थियो।
नेपाल लगायत अन्य देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय २०३ भन्दा बढी धावकहरुको उपस्थिति रहेको थियो। गाउँपालिकाको रङ्गशाला (कोर्कु) देखि सुरु भै रक क्लाईबिङ सेन्टर, सिलगुडी, घुम्नेमेरा गुम्बा, कुधम हाईक्याम्प, योतेल्म्य पर्यटन सेल्टर, दिलुङ, खुस्कुम, खास्ताप पर्यटन सूचना केन्द्र र प्लाम्दु हुदै रङ्गशालामा आएर उक्त म्याराथन सम्पन्न भएको हो।
प्रतियोगितामा खुल्ला पुरुषतर्फ सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका अर्जुन कुलुङ प्रथम, रामेछापका होमलाल श्रेष्ठ दोश्रो र महाकुलुङकै सुमन कुलुङ तेस्रो भएका छन। त्यस्तै महिलातर्फ भारत बाट सहभागी धावक सबिना राई प्रथम, खोटाङकि निर्मला राई दोश्रो र ओखलढुंगाकि लाक्पा ङिमा शेर्पा तेस्रो भएका छन। बिजेता महिला पुरुष दुबै खेलाडीहरुले क्रमश नगद १ लाख, ७५ हजार, ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
