
सोलुखुम्बु -थुलुङ दुधकोशी गाउँपालिका ५ को नवनिर्मित २ कोठे भवनको उद्घाटन गरिएको छ । कालिका आधारभुत विद्यालयको उक्त भवन एक भव्य कार्यक्रमका बिच पालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाको १५ लाख रुपैयाँ अनुदान सहयोगमा भवन निर्माण सम्पन्न गरिएको हो । भौगोलिक विकटताको कारण आधारभुत तह कक्षा ५ पूरा गरि थप अध्ययनको लागि एक घण्टा सम्म हिड्नुपर्ने विधार्थीको बाध्यताको अन्त्य गर्ने उद्धेश्यले गाउँपालिकाको अनुमतिमा हाल कक्षा ८ सम्म सञ्चालन गरिएको छ । कक्षा वृद्धि संंगै कक्षा कोठा समेत अपुग भएकाले भवनको लागि बजेट व्यवस्था गरी भवन निर्माण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभायो ।


यस्तै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै पालिका अध्यक्ष असिम राईले आवश्यकता अनुसार भौतिक पुर्वधार पनि निर्माण गरिरहेको बताउनुभयो । आफ्नो नागरिकलाई सहज सेवा दिनुपर्छ भन्ने मान्यतामा प्रष्ट भएको भन्दै अध्यक्ष राईले नागरिकले समेत सोही अनुसार कर्तव्य पूरा गरेको खण्डमा विकासले पुर्णता पाउने बताउनुभयो । आफू निर्वाचित भएपछि कक्षा थप संगै मर्ज समेत गरिएको भन्दै अध्यक्ष राईले कालिका आधारभुत विद्यालायले पेश गरेको माग पत्रबारे गम्भीर रहेको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष सविता राईले आफुले सोही विद्यालयमा कक्षा १ देखि अध्ययन गरेको स्मरण गर्दै एसिईई परिक्षाको सेन्टर समेत रहेको पुर्वधारमा सम्पन्न हुनुपर्ने कुरामा प्रष्ट रहेको बताउनुभयो । कक्षा थप संगै पुर्वधार निर्माणमा सहयोग गर्ने पालिका अध्यक्ष सहित संबन्धित सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।
