
काठमाडौं । नागरिक एपमा राष्ट्रिय परिचयपत्र आबद्ध भएको छ । एपको पछिल्लो अपडेटसँगै राष्ट्रिय परिचयपत्र लिङ्क गर्ने सुविधा उपलब्ध भएको हो ।


सोमबार २० जनवरीका दिन आएको २।०।४१ भर्सनको अपडेटमा एनआईडी (राष्ट्रिय परिचयपत्र) थप गरिएको भए पनि यो समाचार तयार पार्दासम्म उक्त फिचर लाइभ भने भइसकेको छैन । नागरिक एप स्रोतका अनुसार मङ्गलबार दिउँसोदेखि लाइभ हुनेछ । उक्त फिचरको सहयोगमा तत्काल राष्ट्रिय परिचयपत्र लिङ्क गर्न मिल्ने बताइएको छ ।
तर राष्ट्रिय परिचयपत्रकै आधारमा नागरिक एपमा खाता खोल्न तथा भेरिफिकेसन कार्यका लागि भने अझै एक साता जति कुर्नुपर्ने नागरिक एपमा एक प्राविधिकले बताए ।राष्ट्रिय परिचयपत्रसँग जोडिएसँगै डेमोग्राफिक डिटेल, फोटो आदि जस्ता नागरिकका प्रमाणीकृत विवरण नागरिक एपमा आएका छन् । यसले गर्दा नागरिक एपबाटै केवाईसी अपडेट तथा व्यक्तिको प्रमाणीकरण गर्न सकिने अवस्था तयार भएको छ ।
नागरिक एप बैंक खाता खोल्न प्रयोग हुने भएकाले स्क्याम तथा ठगी कार्यका लागि गलत सूचना दिएर अर्काको नाममा खाता खोल्ने प्रवृत्ति नियन्त्रणमा समेत यसले मद्दत पुर्याउने अपेक्षा गरिएको छ । त्यसो त नागरिक एपमा रहेका विवरणको आधारमा बैंक खाता खोल्न मिल्ने सुविधा यस अघि नै ल्याइएको थियो । अब राष्ट्रिय परिचयपत्रबाट प्राप्त अपडेटेड विवरणको आधारमा बैंक खाता खोल्ने उक्त सुविधालाई समेत अपग्रेड गरिनेछ ।
