
सोलुखुम्बु ः थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो गाउँपालिका सर्वाङ्गीण विकासको पक्षमा रहेको बताउनु भएको छ । गाउँपालिकामा आज (बिहिबार) सुरु भएको छैटौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले यस्तो बताउनुभएकाे हाे ।


उहाँले भन्नुभयो , “हामीलाई भौतिक पुर्वाधारको विकास सबैभन्दा महत्वपूर्ण लागेता पनि सामाजिक विकास र आर्थिक विकास पनि उत्तिकै महत्वपूर्ण छन् । सामाजिक विकासमा पर्ने खेलकुद देखि लिएर संगीत, साहित्य र ललित कलाको उत्तिकै विकास गर्नु पर्छ । त्यसैले हामीले सर्वाङ्गीण विकासमा लगानी गरेका छौं ।”
त्यस्तै आफू निर्वाचित भएर आएसँगै आर्थिक तथा सामाजिक क्षेत्रमा थुलुङ दुधकोशी गाउँपालिकाले फड्को मारेको दावी गर्नु भयो । हाल थुलुङ दुधकोशीमा अरबौको काम भइरहेको उल्लेख गर्दै शिक्षा सँगै खेलकुदको पनि विकास गर्न पालिकाले बजेट छुट्टाएर काम गरिरहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रबिन्दु थुलुङ दुधकोशी भएको समेत दाबी गर्नुभयो ।
यस्तै पालिकाले सञ्चालनमा ल्याएको थुलुङ दुधकोशी सामुदायिक अस्पतालले गरिब र निमुखा नागरिकले सहज र सरल उपचार पाएको भन्दै सबै कुरा आफ्नो नेतृत्वमा पालिकाले गरेको उल्लेख गर्नु भयाे । उहाँले पालिकाकाे समग्र विकासमा सहयाेग गर्नुहुने आम सर्वसाधारण जनता एवं सारथी जनप्रतिनिधिलाई धन्यवाद ब्यक्त गर्नु भयो । गाउँपालिका अध्यक्ष राईको सभाध्यक्षता एवं प्रदेश सभा क का माननिय गोम्बु शेर्पा कर्ज्याङकाे प्रमुख आतिथ्यतामा सम्पन्न उत्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, जिल्ला प्रहरी नायव उपरीक्षक द्धारीका प्रासाद घिमिरे लगायत छिमेकी गाउँपालिकाका जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
