नेपालको मौसमी प्रणालीको अहिलेसम्मको अवस्था हेर्दा यो वर्ष कम वर्षा र बढी गर्मी हुने अनुमान गरिएको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार बर्खायामको चार महिनाको अवधिमा सरदर पानी कम पर्ने र गर्मी बढी हुने अनुमान गरिएको छ।
जूनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम धेरैजसो भूभागमा सरदरभन्दा बढी नै हुनसक्ने देखिएको विभागले जनाएको हो।
विभागले मे ४ तारिखमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार बर्खायाममा ३० वर्षको औसतमा यो वर्ष कम वर्षा हुने देखिएको छ।
यसले कृषि उत्पादनमा असर गर्ने र बाढीपहिरोका घटनामा केही कमी आउने आकलन गर्न सकिने विभागका वरिष्ठ मौसमविद्हरू बताउँछन्।
यो बर्खायाममा नेपालमा कम पानी पर्ने अनुमान गरिनुको कारण एल निन्यो भनिने जलवायु प्रणाली भएको उनीहरू बताउँछन्।
नेपाल जलवायु प्रणाली ला निन्या सकिएर एल निन्योमा प्रवेश गर्ने तटस्थ अवस्थामा रहेको पूर्वानुमान विभिन्न अध्ययनहरूले गरेको विज्ञहरू बताउँछन्।
एल निन्यो र ला निन्या भनेको के हो?
एल निन्यो र ला निन्या भनेका जलवायु प्रणाली एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) का दुईवटा अवस्था हुन्।
एल निन्यो भनेको एउटा जलवायु प्रणाली हो जुन पूर्वी प्रशान्त महासागरको तापक्रममा निर्भर हुन्छ।
यो अवस्था हुँदा पूर्वी प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढी हुन्छ।
अहिलेसम्म सार्वजनिक भएका अध्ययनहरूबाट नेपालमा अबका केही सातामा सुरु हुने बर्खायाममा एल निन्योको अवस्था विकसित हुने हुँदा तापक्रम सरदरभन्दा बढ्ने पूर्वानुमान गरिएको हो।
एल निन्यो विकसित भयो भने किन कम पानी पर्छ?
एल निन्यो हुँदा नेपालमा बर्खायाममा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने हुन्छ।
एल निन्योको अवस्थाले वायुको दिशा र शक्ति दुवैलाई प्रभाव पार्दा औसतभन्दा कम पानी पर्ने विज्ञहरू बताउँछन्।
जल तथा मौसम विज्ञान विभागस्थित वरिष्ठ मौसमविद् इन्दिरा कँडेल भन्छिन्, “एल निन्योले नेपालतिर बहने वायुको बहावको दिशालाई परिवर्तन गरिदिन्छ र त्यसको जुन शक्ति हुनुपर्थ्यो त्यसलाई पनि क्षिण गरिदिन्छ। यसले गर्दा कम पानी पर्ने पूर्वानुमान गरिने हो।”
नेपालको अहिलेको अवस्था ला निन्या सकिएर एल निन्यो सुरु हुने तटस्थ अवस्था हो।
ला निन्या हुँदा भने नेपालमा सरदरभन्दा बढी वर्षा हुन्छ र तापक्रम कम रहन्छ।
नेपालमा तीन वर्ष लगातार ला निन्याको अवस्था रहेर अहिले उक्त अवस्था सकिसकेको विज्ञहरू बताउँछन्।
भूमध्यरेखीय पूर्वी अथवा मध्य प्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम हुनुलाई नै ला निन्याको अवस्था भनिन्छ।
एल निन्योको असर कस्तो पर्ने देखिन्छ?
नयाँ तथ्याङ्क अनुसार विवरण राख्न थालिएयता सन् २०२२ अति गर्मी भएको वर्षमा पाँचौँ स्थानमा पर्छ।
ला निन्या भनिने जलवायु प्रणालीका कारण सन् २०२३ अझ बढी गर्मी हुनसक्ने भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
विश्वव्यापी तापक्रम घटाउँदै आएको ला निन्या अवस्थाको अन्त्य हुन लागेका कारण चिन्ता बढेको हो।
त्यही पूर्वानुमान नेपालको हकमा पनि गरिएका कारण हामी पनि सचेत हुनुपर्ने मौसमविद्हरू बताउँछन्।
कृषि तथा आरोहणसम्मको काममा तापमान वृद्धिले असर गर्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्।
“हाम्रो प्रणाली त्यति धेरै विकसित छैन। त्यसैले ठ्याक्कै कहिले पानी पर्छ र कहिले सुक्खा हुन्छ भन्न सकिँदैन,” उनले भनिन्।
“त्यसरी भन्न सकिने प्रणाली भयो भने किसान र आरोहीलाई सजिलो हुने गरी हामीले मौसमको अवस्था सुझाउन सक्थ्यौँ।”
अहिले किन बर्खायाममा जस्तै पानी परिरहेको छ?
नेपाल अहिले प्रि-मनसुनको अवस्थाबाट मनसुनमा प्रवेश गर्नुअघिको ‘सङ्क्रमणकालीन’ अवस्थामा रहेको विज्ञहरू बताउँछन्।
बर्खा नजिकिँदै जाँदा मनसुनी गतिविधि पनि बढ्दै गएको, पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको प्रभावका कारण अहिले खासगरी अपराह्नपछिको समयमा देशका विभिन्न भागमा पानी पर्ने गरेको वरिष्ठ मौसमविद् मानन्धरले बताइन्।
“पश्चिमी वायु, स्थानीय वायुको प्रभाव र मनसुनका लागि तयार हुनुपर्ने अवस्थाले मिश्रित कारणले अहिले वर्षा भइरहेको हो। १२ बजेपछि हावा चल्ने अनि वर्षा हुने सम्भावना चाहिँ मे महिनाभरि नै हुन्छ,” उनले भनिन्।
प्रि-मनसुन सकिएर सुरु हुने मनसुनको अवधि कहिलेसम्म रहन्छ ठ्याक्कै भन्न नसकिने मौसमविद्हरू बताउँछन्।
जून महिनामा बर्खायाम सुरु भए पनि एल निन्योको अवस्था ठ्याक्कै जूनमै भित्रिन्छ वा जुलाईमा मात्रै भित्रिन्छ यसै नसकिने मौसमविद् कँडेलले बताइन्।
त्यसरी भित्रिएको एल निन्योले नेपालको मौसमलाई कसरी र कहिलेसम्म प्रभाव पार्छ भनेर पनि यकिन गर्न नसकिने उनी बताउँछिन्।
“एल निन्योको अवस्था सुरु भएपछि कति समय रहन्छ यसै भन्न सकिँदैन। ६/७ महिनादेखि एक-दुई वर्षसम्म पनि रहन सक्ने बताइन्छ,” उनले भनिन्।
यस वर्ष एल निन्योले भारतको मौसममा पनि ठूलो असर गर्ने विभिन्न विवरण आएका छन्।
भारतको उत्तर प्रदेशको भूभागसँग नेपालको मौसमी परिवर्तन मिल्दोजुल्दो हुने अनुमान गर्न सकिने कँडेल बताउँछिन्।
यो वर्ष नेपालमा हिउँदमा पनि औसतमा भन्दा बढी नै तापक्रम रहेको र कम वर्षा भएको विभागको तथ्याङ्कले देखाउँछ।
एल निन्यो र ला निन्याले मौसमलाई कसरी असर गर्छ?
सबै एल निन्यो र ला निन्या उस्तै हुँदैनन्। तर वैज्ञानिकहरूका अनुसार त्यसका केही विशिष्ट प्रभावहरू हुन्छन्:
एल निन्योको अवस्थामा विश्वव्यापी तापक्रम करिब ०.२ सेल्सियस बढ्छ भने ला निन्याका क्रममा त्यति नै मात्रामा घट्छ।
एल निन्योको अर्थ तातो पानी अझै धेरै फैलिन्छ र सतह नजिक रहन्छ। यसले वायुमण्डलमा थप तातो पठाउँछ र त्यसले बढी सुक्खा र हावालाई थप तातो बनाउँछ।
अहिलेसम्मको विवरण अनुसार सबैभन्दा तातो वर्ष सन् २०१६ थियो। त्यतिबेला एल निन्योको अवस्था थियो।
सन् २०२० देखि २०२२ सम्ममा उत्तरी गोलार्द्धमा लगातार तीनवटा ला निन्या अवस्था देखिएको थियो।
यसरी लगातार तीन पटक ला निन्याको अवस्था देखिए पनि युरोपेली आयोगको जलवायु परिवर्तन अनुगमन सेवाले सन् २०२२ लाई पाँचौ तातो वर्ष भएको जनाएको छ।
ला निन्याको अवस्थामा एशिया र क्यानडामा ठूलो वर्षा देखिएको थियो।
यी मौसमी प्रणालीको अवस्था कति समय देखापर्छ?
एल निन्यो र ला निन्याको अवस्था सामान्यतया दुईदेखि सात वर्षमा देखापर्छ र धेरैजसो ९ देखि १२ महिनासम्म रहन्छ।
ला निन्याको अवस्था एल निन्योभन्दा कम देखापर्छ।
एल निन्यो र ला निन्याले निम्त्याउने मौसमको चरम अवस्थाका कारण विश्वभरि नै भौतिक संरचना, खाद्यान्न र ऊर्जा प्रणालीमा असर गर्छ।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनका अनुसार एल निन्योका कारण क्यानडा र एशियामा सन् २०१४ देखि २०१६ सम्ममा भएको खडेरीका कारण ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षामा असर गरेको थियो।
जलवायु परिवर्तनले एल निन्यो र ला निन्यालाई असर गर्छ?
सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका जलवायु वैज्ञानिकहरूको समूह आईपीसीसीले ईएनएसओले निम्त्याउने अवस्थाहरू सन् १८५० देखि १९५० सम्मको समयमा भन्दा त्यसयता धेरै शक्तिशाली भएको बताएका छन्।
आईपीसीसीले जलवायु परिवर्तनले एल निन्यो वा ला निन्याको अवस्थाहरूमा असर गरेको भन्ने कुनै स्पष्ट प्रमाण नरहेको निष्कर्ष निकालेको छ।